पुरूषभन्दा कम छैनन् चेलीहरू पनि

लाहुरेहरूको जिल्ला भनेर वर्षौ पहिलेदेखि पहिचान बनाउन सफल म्याग्दी जिल्लामा पछिल्ला केही वर्षयता चमत्कारिक तर आशालाग्दा सकारात्मक परिवर्तनहरू देखिन थालेका छन्।
 
बैदेशिक रोजगारीवाट धानिएको म्याग्दीको अर्थतन्त्रमा रैथाने प्रविधि र सीपको उपयोग गरी महिलाहरूसमेत स्वावलम्वी बन्न थालेपछि पुरूषहरूको कमाई घर घडेरी र भौतिक बिलासिताका बस्तुहरुको विनिमय गर्ने माध्यम बनेको छ। 
 
राजनीतिक रूपमा महिला सशक्तिकरणका विषयमा चर्काचर्की कुराहरू सुनिए पनि व्यवहारतः कार्यान्वयन हुन नसकिरहेको अवस्थामा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु र एनजिओ , आइएनजिओले महिला सशक्तिकरणको बहानामा आफ्नो आर्थिक सशक्तिकरण मात्र गरेका भन्ने गुनासाहरू बढिरहेका छन्।
 
एकातर्फ देशको अन्योलग्रस्त राजनीति र अर्कोतर्फ अवसरवाट बञ्चित हुनुपर्दा महिलाहरूको अवस्थामा खासै परिवर्तन आउन नसकेको अवस्थामा म्याग्दीका केही चेलीहरूले भने विदेशमा गएर परिश्रम गरेर पुरुष बरावरको कमाईमात्र गरेका छैनन् अत्यन्त महंगो मानिने सदरमुकाम वेनीवजारमा घडेरी किनेर घरसमेत वनाउन सफल भएका छन्।
 
म्याग्दीको विममा स्थायी घर भइ हाल बेनी वजारको आवा चोकमा बसेकी विश्व शेरचन, अर्थुङ्गे ७ की २४ वर्षीर्य चीना केसी, वेनी मंगलाघाटकी रेजिना राना र अनिता राना, मल्कवाङ ७ म्याग्दीकी इन्›कुमारी छन्त्याललगायतका म्याग्देली चेलीहरुले विदेशमा परिश्रम गरी कमाएको पैसाले काठमाण्डौं, पोखरा र वेनी बजारमा घर घडेरी मात्र जोडेका छैनन् अवसर पाउने हो भने महिलाहरुले पनि पुरुषको तुलनामा कमाइ गर्न सक्छन भन्ने गतिलो उदाहरण समेत बनेका छन।
 
१० वर्ष जापान वसेर केही समयअघि नेपाल फर्किएकी विमकी विश्व शेरचनले जापानमा कमाएको पैसाले वेनी वजारको आवा चोकमा घडेरी किनेर पक्की घरसमेत ठड्याएकी छन्।
 
जापानको एक टेलिभिजन निर्माण कम्पनीमा दैनिक ६ घण्टा काम गर्दा मासिक १ लाख रुपैयाँ कमाइ हुने गरेको बताउँने शेरचनले ३० वर्षको उमेरमा जापान गएको र त्यहाँ १० वर्षसम्म काम गरी स्वदेश फर्केर वेनीमा घडेरी किनी घर बनाएको वताइन्। 
 
१० वर्षे सशस्त्र द्वन्द्वको समयमा गाउँवाट विस्थापित भई बुवा आमा काठमाण्डौंमा वस्न थालेपछि गाउँको सम्पत्ति त्यसै अलपत्र परेको बताउने ४१ वर्षीया अविवाहित शेरचनले १० वर्ष जापान बसाइका क्रममा करिव ८५ लाख रुपैयाँ कमाएकी थिइन्। यही कमाईले घडेरी किनेर घर बनाएको उनले बताइन्।
 
जापानमा सयौं नेपाली चेलीले पुरुषभन्दा बढि कमाई गरिरहेका बताउँदै शेरचनले भनिन्,' अवसर मात्र दिर्नुपर्छ महिलाहरू पुरुषको तुलनामा कुनै अर्थमा पनि कमी हुँदैनन। शेरचनको भनाइलाई पुष्टि गर्दै जापानवाट म्याग्दीको ज्यामरुककोट ४ विमिरावोटका गोकुल शर्मा इमेलमा लेख्छन 'जापानमा म्याग्दीका मात्रै र्दुइ दर्जनभन्दा बढि चेलीहरू कार्यरत छन् र उनीहरूको मासिक कमाई १ लाखदेखि १ लाख ६० हजार रुपैयाँसम्म रहेको छ।
 
त्यसैगरी विमकै पार्वती भट्टचन पनि ८ वर्षेदेखि जापानको एक कम्पनिमा काम गरिरहेकी छन्। आफ्ना श्रीमानसँग सम्वन्ध विच्छेद भएपछि अहिले उनले पोखरामा घडेरी किनेर घर वनाएकी छन् भने वुवाआमालाई पनि छोराले जस्तै स्याहार गरेर पालेकी स्थानीय नरवहादुर केसीले बताए।
 
यता विगत चार वर्षेदेखि अष्ट्रेलियामा रहेकी भएकी अर्थुङे ७ की मीना केसीले आफ्नो कमाइ बुवा यामवहादुर केसीलाई पठाइदिने गरेकी छन्। चीनाले अष्ट्रेलियामा कमाएको पैसाले नै बुवा यामवहादुर केसीले वेनीवजारको मंगलाघाटमा तीन तले घर बनाएका हुन्।
 
दुई बहिनीमध्ये कान्छी छोरी चिनाले अष्ट्रेलियामा मासिक डेढलाख रुपैयाँ कमाइ गर्ने गरेको बताउँदै चीनाका बुवा यामवहादुर केसीले भनिन्, 'मेरा छेरा भएनन, दुई बहिनी छोरीलाई नै मैले छोरा मानेर हुर्काएँ, पढाएँ। अहिले र्दुइवटै छोरी स्वावलम्वी बनेका छन्। उनीहरुको भविष्य सुनिश्चित भएको छ। म यसैमा खुसी छु।
 
त्यसैगरी मंगलाघाटकै दुई बहिनी रेजिना राना र अनिता राना पनि वैदेशिक रोजगारीका लागि कोरिया र अष्ट्रेलियामा छन्। उनीहरूको कमाइ पनि घर घडेरीमा नै खर्च भएको स्थानीयले वताएका छन्।
 
त्यस्तै मल्कावाङ ७ म्याग्दीकी इन्›कुमारी छन्त्याल ३ वर्षदेखि वेलायतमा कमाइरहेकी छिन्। बेलायत बसाइको तीन वर्ष छन्त्यालले पोखराको हेम्जामा घडेरी किनेर तीनतले पक्कि घर वनाउनुको साथै वुवा आमा र भाइहरुको समेत संरक्षक बनेकी उनका छिमेकी हरी छन्त्यालले बताए।
 
यी त केही प्रतिनिधि पात्र मात्र हुन्। यस्ता दर्जनौं चेलीहरू छन जसले विदेशी भूमिमा पसिना बगाएर मनग्गे कमाउन सफल भएका छन् । 
 
पुरुषले विदेशमा कमाएर पठाएको पैसाले यो र त्यो गर्‍यौं भनि लामै फेहरिस्त सुनाउन पछि नपर्ने समाजले महिलाहरुले पनि यति कमाएर पठाएका छन्न् र उनीहरुको कमाइ यस्ता यस्ता काममा खर्च भएको छ भन्ने कुनै तथ्यांकसमेत राख्ने गरेको छैन।
 
यहाँसम्मकी बैंक तथा वित्तिय संस्थामासमेत महिलाले विदेशमा गएर कमाएको कति पैसा स्वदेश भित्रियो भन्ने कुनै अभिलेख छैन। महिलाहरुले कति पठाए भन्ने कुनै तथ्याङ्क रहदैन सदरमुकाम बेनी वजारमा रहेको निलगिरी विकास वैंकका अधिकृत अनुमान श्रेष्ठले भनिन्, महिलाहरू न्यून संख्यामा विदेश जाने र उनीहरुको कमाइ पनि पुरुषमार्फत नै रेमिट्यान्स को रूपमा भित्रिने हुँदा तथ्याङ्क राख्न नसकिएको हो।
Related Labels:

No comments for: "पुरूषभन्दा कम छैनन् चेलीहरू पनि"


Leave a Reply

अन्य