काँग्रेसले सबैलाई समेटेर सरकार बनाउने– डा कोइराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित सभासद् डा शेखर कोइरालाले संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले अन्य पार्टीलाई समेत समेटेर सरकारको नेतृत्व गर्ने बताए।

 विराटनगरस्थित कोइराला निवासमा आज सञ्चारकर्मीलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उहाँले सबै दलको सहमति एवम् सहकार्यमा छिटै सरकारको गठन गरिनेछ भने।

 यस निर्वाचनले जातीय आधारमा संघीयता बनाउने राजनीतिक एजेण्डा पराजित भएको उल्लेख गर्दै नेता कोइरालाले सबै जातजातिको पहिचान सम्बोधन हुनेे गरी लोकतान्त्रिक संविधान
निर्माण हुने बताए।

 शासकीय स्वरुप एवम् सङ्घीयताको विवाद समाधानका लागि दलबीच सहमति खोज्ने, नभए दुई तिहाई बहुमतबाट समाधान गर्ने र त्यसो गर्दा पनि सहमति नभएमा जनमत सङ्ग्रहमा जान सकिन्छ, उनले भने।

 उनले एकीकृत माओवादीसँग छलफल गरी संविधानसभामा सहभागी गराउने विश्वास व्यक्त गर्दै नेकपा–माओवादीसँग पनि सहकार्य गरी एक वर्षभित्र सबैलाई मान्य हुने संविधान लेखिनेछ बताए।

 नेता कोइरालाले राष्ट्रपति एवम् उपराष्ट्रपतिको पदावधि अन्तरिम संविधानमा उल्लेख नभएको हुनाले संविधान जारी नहुन्जेलसम्म त्यो पदमा उहाँहरु रहने बताएका छन्। रासस
Related Labels:

No comments for: "काँग्रेसले सबैलाई समेटेर सरकार बनाउने– डा कोइराला"


Leave a Reply

अन्य